क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेर आफू दौडमा नउत्रने बताएका छन् । डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपतीय दाबेदार मानिएका न्युसमले सिएनएनसँगको अन्तर्वार्तामा ह्यारिस र आफू दुवै उम्मेदवार बने डेमोक्रेटिक मत विभाजित हुने र त्यसबाट रिपब्लिकनलाई फाइदा पुग्ने बताएका हुन् ।
सिएनएनका प्रस्तोता जेक टेपरसँगको अन्तर्वार्तामा उनले ह्यारिस उम्मेदवार बन्ने आफूले प्रतिस्पर्धा नगर्ने स्पष्ट पारे । रिपब्लिकनहरूले वर्तमान उपराष्ट्रपति जेडी भान्ससहित सम्भावित उम्मेदवारको पक्षमा मत एकत्रित गर्न सक्ने उनको भनाइ छ । दुई डेमोक्रेटिक उम्मेदवारबीचको प्रतिस्पर्धालाई उनले पार्टीका लागि ‘पारस्परिक रूपमा सुनिश्चित विनाश’ को अवस्था बताए।
न्युसमले सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनविरुद्ध उम्मेदवारी नदिनुको कारण आफू त्यतिबेला तयार नभएको बताए। आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णयमा आफ्ना चार सन्तानको समर्थन पनि महत्त्वपूर्ण हुने उनले बताए।
सन् २०१८ मा क्यालिफोर्नियाको गभर्नर निर्वाचित भएका न्युसम चार वर्षपछि दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित भएका हुन्। सान फ्रान्सिस्कोको मेयर हुँदै गभर्नरसम्म पुगेका उनलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित डेमोक्रेटिक उम्मेदवारका रूपमा हेरिँदै आएको छ ।
यसैबीच, न्युसमले सोमबार सर्वोच्च अदालतको मेल–इन मतदानसम्बन्धी निर्णयको स्वागत गरेका छन्। उनले निर्णयलाई लोकतन्त्र, विधिको शासन र संवैधानिक अधिकार प्रयोग गर्न चाहने अमेरिकी जनताका लागि सकारात्मक भएको बताए।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विगत २० महिनामा लोकतन्त्रमाथि निरन्तर आक्रमण गरेको आरोपसमेत लगाए।














