यस्ता छन् सर्वदलीय बैठकले गरेका निर्णय

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले भोटेकोसी बाढीपछि भइरहेका कामकारबाहीको समीक्षा गरेको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोसी बाढीलगायत समसामयिक विषयमा छलफल भएको बताए। बाढीपछिको खोज, उद्धार, राहत वितरण, पुनर्स्थापना र पुनर्निर्माणका क्षेत्रमा सरकार तथा राजनीतिक दलहरूले गरिरहेका कामको समीक्षा भएको उनले बताए। 

त्यस्तै, सर्वदलीय बैठकले रास्वपा सभापति लामिछानेको संयोजकत्वमा रहेको सर्वदलीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने निर्णय गरेको छ। संयन्त्रमा रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति, राप्रपा, जसपा नेपाल, जनमत पार्टीलगायत संसद्‌मा प्रतिनिधित्व गर्ने र बाहिर रहेका दलको सहभागिता रहने खरेलले जानकारी दिए। 

यस्तै, एक साताभित्र संसदीय विशेष समिति बनाउने पनि सहमति जुटेको छ। जसमा राजनीतिक दलको संसद्मा रहेको सीट संख्याका आधारमा प्रतिनिधित्वमा रहनेछ। 

विशेष समितिले विपद् प्रभावित क्षेत्रको अध्ययन, छानबिन र समन्वय गर्ने जनाइएको छ। समितिको कार्यक्षेत्र तोक्न बाँकी रहेको छ।  यससँगै प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न संयुक्त राष्ट्रसङ्घको भ्रमणका विषयमा पनि बैठकमा छलफल भएको खरेलले जानकारी दिए।