यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार र हुथी सशस्त्र समूहबिचको लडाईं तीव्र भएको छ र दुवै पक्षले मारिब, ताइज र होदेइदाहलगायत धेरै मोर्चामा आक्रमण गरिएकको दाबी गरेका छन्।
अल-मसिराह टीभीका अनुसार, ‘साउदी नेतृत्वको गठबन्धनले ताइज जिल्लाका अल-धिक्रा र अल-हुबान क्षेत्र तथा खुदेइर जिल्लाको अल-रहिदा क्षेत्रमा रहेका सञ्चार टावरमा हवाई आक्रमण गरेको छ।’
यमनको सरकारी सेनाले साउदी नेतृत्वको गठबन्धनले बन्दरगाह सहर मक्कानजिकै हुथीका स्थान र सैन्य उपकरणलाई निसाना बनाइएको बताएको छ। साथै उत्तरी मारिबमा ड्रोन प्रहार पनि गरिएको बताएको छ।
उता हुथी समूहले साउदी सेनाले विगत २४ घण्टामा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा ४० वटा हवाई आक्रमण गरेको बताएको छ।
साथै जवाफमा साउदी सहर खामिस मुसैतको विमानस्थल र यान्बुमा तेल सुविधामा हमला गरिएको दाबी उसले गरेको छ।
निरन्तर आक्रमणका कारण क्षेप्यास्त्र भण्डार रित्तिँदै गएकाले साउदी अरेबियाले आफ्नो हवाई रक्षा प्रणाली बलियो बनाउन र हवाई सुरक्षा प्रदान गर्न फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टबाट सहयोगको अनुरोध गरेको बताइएको छ।
संयुक्त राज्य अमेरिकाले भने यमन द्वन्द्वमा प्रत्यक्ष भूमिका नखेल्ने बताइसकेको छ। यद्यपि अवस्थालाई नजिकबाट निगरानी गरिरहेको उसको भनाइ छ।














