जलवायु संकट समाधानमा शक्ति राष्ट्र गम्भीर भएनन् : पूर्वराष्ट्रपति भण्डारी

Image

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न नसकेको बताएकी छन्।

शनिबार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै भण्डारीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि यसको असर नेपालले अन्यायपूर्ण रूपमा भोगिरहेको बताइन्।

नेपालले संयुक्त राष्ट्रसंघ, जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप) लगायतका अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषय निरन्तर उठाउँदै आए पनि समस्या समाधानमा अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ थियो।

शक्ति राष्ट्रहरूबीच ‘मैले घटाएको छैन, म किन घटाउने’ भन्ने प्रकारको प्रतिस्पर्धा देखिएका कारण जलवायु संकट समाधानमा ठोस प्रगति हुन नसकेको भण्डारीले बताइन्। अन्तर्राष्ट्रिय सम्मेलन, छलफल तथा सेमिनारमा ठूलो रकम खर्च भए पनि विश्वको पारिस्थितिक प्रणाली संरक्षणका लागि अपेक्षित कदम चाल्न नसकिएको उनले उल्लेख गरिन्।

आफू राष्ट्रपति रहँदा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको जलवायु तथा वातावरणीय अवस्था प्रस्तुत गरेको स्मरण गर्दै भण्डारीले त्यस्ता विषय उठाउँदा आफूले पीडा अनुभूति गर्ने गरेको बताइन्।

जलवायु संकटबाट जोगिन नेपालले राष्ट्रिय एकता कायम गर्दै समान समस्या भोगिरहेका देशहरूसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिइन्।

‘ग्लोबल वार्मिङ नियन्त्रणका लागि शक्तिशाली राष्ट्रहरूले अपनाउनुपर्ने विधि अपनाउन सकेका छैनन्। उनीहरूबीच प्रतिस्पर्धा छ र त्यसलाई मान्न तयार छैनन्,’ उनले भनिन्, ‘यसबाट मुक्ति पाउन हामीले राष्ट्रिय एकता कायम गर्दै समान समस्या भोगिरहेका देशहरूसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय मञ्चमा राम्रोसँग आवाज उठाउनुपर्छ।’

पछिल्लो समय रसुवागढीलगायतका क्षेत्रमा देखिएका विपद्का घटनातर्फ संकेत गर्दै भण्डारीले भविष्यमा अन्य क्षेत्रमा पनि यस्ता समस्या आउन सक्ने बताइन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम नेपालले मात्र नियन्त्रण गर्न नसक्ने भएकाले यसको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।