देवानगञ्जमा गोली चल्यो, १९ वर्षीय युवक घाइते

Image

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिवार साँझ फेरि गोली चलेको छ। गोली प्रहारबाट १९ वर्षीय निरज यादव गम्भीर घाइते भएका छन्। यादवको तिघ्रामा गोली लागेको स्थानीयले बताएका छन्। प्रहरीले घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जनाएको छ।

घटना लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा अन्य छ जना संलग्न रहेको भन्ने जानकारीमा आएकोले उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी एवं प्रवक्ता चन्द्र खड्काले गोली लागेको जस्तो देखिएकोले त्यस बारेमा पुष्टि गर्ने काम भइरहेको जनाए। 

बन्दुकको गोली या अन्य केही हतियारको प्रयोग भएको हो भन्ने बारेमा भेरिफाई गर्ने काम भइरहेको प्रवक्ता खड्काले जानकारी दिए। घटनाको पछाडि कुनै रिसिइवी हुनसक्ने प्रहरीको अनुमान छ।  कप्तानगन्जमा यसअघि गत साउन १० गते दुई पक्षबिच भएको झडपमा तीन जनाको मृत्यु भएको थियो। देवानगन्ज–३ कप्तानगन्जमा भएको उक्त झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो।

ओमप्रकाशको साउन १० गते राति, जयप्रकाशको साउन १४ गते र रवीन्द्रको साउन १९ गते काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको थियो।