युद्धमा रहेको इजरायलाई सैनिक र हतियार अभाव हुन थालेको दाबी स्थानीय सञ्चारमाध्यमले गरेका छन्।
मारिभ पत्रिकाका अनुसार तीन वर्षे युद्धमा इजरायली सेनाले ३० वर्षमा प्रयोग गरिएबराबरका गोला-बारुद खर्चेको छ। जसले गर्दा ठुलो संख्यामा ट्यांकर जीर्ण भएर प्रयोग गर्न नसकिने भएका छन्। सैनिकको पनि चरम अभाव देखिएको छ। जसका कारण सैनिकहरूको बिदा निलम्बन गरिएको छ। यसैबिच च्यानल १२ ले बजेट अभावका कारण अमेरिकी कम्पनी बोइङबाट १२ वटा अपाचे आक्रमण हेलिकप्टर खरिद पनि रोकिएको जनाएको छ।
अक्टोबर २०२३ मा हमासले हमला गरेपछि इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेको थियो। पछि यो लडाइँ गाजाभन्दा बाहिर पनि फैलियो।यसपछि इजरायलले लेबनान र इरानमा पनि सैन्य हमला सुरु गर्यो। यस अवधिमा इजरायली सेनाले धेरै मोर्चामा ट्यांक, बख्तरबन्द गाडी, गोला-बारुद र अन्य सैन्य उपकरण निरन्तर तैनाथ गर्नुपरेको थियो।
मिडिया रिपोर्टअनुसार संयुक्त राज्य अमेरिकाले इजरायललाई प्रत्येक वर्ष औसतमा ३.८ अर्ब डलर सहयोग गर्छ। यसबाट इजरायलले लडाकु विमान, हतियार र अन्य सैन्य उपकरण खरिद गर्छ। अमेरिकाको संसदीय रिपोर्टअनुसार दोस्रो विश्वयुद्धपछि इजरायल अमेरिकाबाट सबैभन्दा धेरै सहयोग प्राप्त गर्ने देश बनेको छ। २०२३ सम्ममा अमेरिकाले इजरायललाई लगभग १.५ ट्रिलियन डलर सैन्य सहायता प्रदान गरिसकेको थियो।
यस्तो अवस्थामा हतियार खरिदमा बजेटको सीमितताका कारण इजरायली सेनासँग हतियार सकिएको भन्न गाह्रो छ।














