उद्धारमा खटिने सुरक्षाकर्मीलाई जलविद्युतको आईपीओमा २ प्रतिशत कोटा व्यवस्था हुन्छ : ऊर्जामन्त्री श्रेष्ठ

Image

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको अकल्पनीय बाढीमा परेका कर्मचारी, उपभोक्ता तथा स्थानीयलाई लक्षित गरी विभिन्न राहतको घोषणा गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कार्यक्षेत्रमा खटिँदा त्रिशूलीमा बेपत्ता तथा सम्पर्कविहीन भएका विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराइने बताए । 

उनले बाढी प्रभावित ग्राहकलाई भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गरी निःशुल्क नयाँ मिटर दिने र प्रभावित १५ पालिकाका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत दिनेबारे अध्ययन भइरहेको बताए । 

मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा ६०५ सेट घरेलु सौर्य प्रणाली, १ हजार सेट पोर्टेबल लाइट वितरण गरिएको र २ हजार थान सुधारिएको फलामे चुलो वितरणको तयारी भइरहेको रहेको बताए । उनले दसैँअघि यातायात सुचारु गर्ने लक्ष्यसहित गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङमो गाउँपालिकामा विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना प्रक्रिया अघि बढाइएको बताए । 

सुरक्षाकर्मीलाई जलविद्युतको आईपीओमा २ प्रतिशत आरक्षण

विषम परिस्थितिमा ज्यान जोखिममा राखेर खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको योगदानको उच्च सम्मान गर्दै मन्त्री श्रेष्ठले बहालवाला सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाउने प्रक्रिया अघि बढाइएको घोषणा गरे । 

बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण नेपालका मध्य तथा पश्चिम भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै मन्त्री श्रेष्ठले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरे ।