नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा इजाजतपत्र प्राप्त ‘घ’ वर्गका ६ लघुवित्त वित्तीय संस्थामाथि नियमाकीय कारबाही गरेको छ । तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको र अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिबाना गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ बमोजिम तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका कारण चार लघुवित्त संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।
फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड (सुनसरी)को २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएको छ । राष्ट्र बैंकले गत वैशाख ८ गते विनियमावलीको विनियम ३ (क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरेको हो ।
यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड (बागलुङ)ले २०८२ असार मसान्तमा पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेकाले राष्ट्र बैंकले गत वैशाख १० गते विनियम ३ (क) अनुसार शीघ्र सुधारात्मक कारबाही गरेको हो ।
यता, मातृभूमि लघुवित्त वित्तीय संस्था (काठमाडौं)को २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम रहेकाले २०८३/०१/२९ मा विनियम ३ (ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएकाे छ । यस्तै, एनआईसी लघुवित्त वित्तीय संस्था (बनेपा)लाई पनि २०८२ असार मसान्तमा पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र रहेकाले गत असार १२ गते विनियम ३ (क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको छ ।
यससँगै, केन्द्रीय बैंकले तोकिएको अनिवार्य नगद मौज्दात कायम नगरेका कारण दुईवटा लघुवित्त वित्तीय संस्थालाई नगद जरिबाना गराएको छ । जसमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (बनेपा, काभ्रेपलाञ्चोक)ले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकाले प्रथम पटकका लागि गत असार २३ गते नगद जरिबाना लगाइएको छ ।
सञ्जीवनी लघुवित्त वित्तीय संस्था (दाङ)ले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकाे पाइएकाे छ । संस्थालाई गत साउन २४ र भदौ १२ गते कारबाही गरिएको छ । राष्ट्र बैंकका अनुसार, उक्त संस्थालाई प्रथम, दोस्रो, तेस्रो र चौथो पटकका लागि नगद जरिबाना लगाइएको छ ।













