नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को पहिचानसँग जोडिएको कालो चस्माले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चा पाएको छ। अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले सेप्टेम्बर २४ मा प्रकाशित गरेको विशेष फिचरमा प्रधानमन्त्री शाहले लगाउने कालो चस्मा र त्यसको राजनीतिक तथा सार्वजनिक अर्थबारे चर्चा गरेको हो।
न्युयोर्क टाइम्सका अनुसार बालेनले काठमाडौंको मेयर बन्नुअघि र मेयरका रूपमा रहँदा पनि कालो चस्मालाई आफ्नो सार्वजनिक शैलीको एउटा हिस्सा बनाएका थिए। र्यापरका रूपमा परिचित हुँदादेखि नै उनले अपनाउँदै आएको यो शैली अहिले प्रधानमन्त्रीका रूपमा अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका बालेनले पनि कालो चस्मा लगाएको विषयलाई फिचरमा विशेष रूपमा उठाइएको छ। उनको पहिरन र सार्वजनिक प्रस्तुतिलाई नेपालमा पछिल्लो समय विकसित भएको नयाँ पुस्ताको राजनीतिक परिवर्तनसँग पनि जोडेर हेरिएको छ।
बालेन सन् २०२२ मा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित हुँदै राष्ट्रिय राजनीतिमा उदाएका थिए। त्यसपछि उनी नयाँ पुस्ताको राजनीतिसँग जोडिएको प्रमुख अनुहारका रूपमा स्थापित भएका छन्। सन् २०२६ मार्चमा प्रधानमन्त्री बनेपछि संयुक्त राष्ट्रसंघको महासभा उनको पहिलो प्रमुख अन्तर्राष्ट्रिय भ्रमण बनेको छ।
महासभामा सम्बोधन गर्दै बालेनले नेपालको पछिल्लो बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जोखिमलाई विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। उनले जलवायु न्याय, हिमालयको संरक्षण र जोखिममा रहेका मुलुकलाई अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याएका छन्।
न्युयोर्क टाइम्सको फिचरले भने प्रधानमन्त्रीका रूपमा बालेनको राजनीतिक भूमिकासँगै उनको सार्वजनिक व्यक्तित्व र पहिचान निर्माणमा कालो चस्माले खेलेको भूमिकालाई समेत प्रस्तुत गरेको छ।
यससँगै नेपालका प्रधानमन्त्री बालेन शाहको राजनीतिक यात्रा, नयाँ पुस्तासँगको सम्बन्ध र उनको विशिष्ट सार्वजनिक शैली अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासोको विषय बनेको देखिएको छ। फिचरमा प्रधानमन्त्री कार्यालयको भनाइलाई उद्धृत गर्दै चम्किलो प्रकाशबाट आँखाको सुरक्षा गर्न चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री शाहले चस्मा लगाउने गरेको उल्लेख गरिएको छ।
यसअघि पनि प्रधानमन्त्री कार्यालयले शाहलाई आँखाको उपचारपछि चिकित्सकले आवश्यकताअनुसार कालो चस्मा प्रयोग गर्न सल्लाह दिएको जानकारी संसद् सचिवालयलाई गराएको थियो। चिकित्सकीय कारण देखाउँदै संसद् परिसरमा कालो चस्मा लगाउन उनलाई अनुमति दिइएको थियो।
न्युयोर्क टाइम्सको फिचरले भने चिकित्सकीय कारणसँगै बालेनको सार्वजनिक पहिचानमा कालो चस्माले बनाएको विशिष्ट छविलाई समेत चर्चा गरेको छ।














