भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ । निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिए ।
बाढीको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालगायतको टोलीले हुनमन्ते खोला, मनोहरा खोलामा बहाव बढेपछि अनुगमन गरेको थियो । अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बगेपछि आवागमनमा समस्या आएको छ ।
त्यसैगरी बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेकाहरू हटाएर सुरक्षित स्थानमा सारेको छ । टहरामा बस्नेहरूलाई कौशल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा राखिएको जिल्ला प्रहरी परिसरका प्रमुख खड्काले जानकारी दिए । बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणी स्थल हो ।













