प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

Image

प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएको छ । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी हुन् । 

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध र सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धानमार्फत दक्ष, सक्षम र जिम्मेवार स्वदेशी तथा विदेशी जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ विधेयक ल्याइएको जानकारी दिइन् । 

भू–राजनीतिक संवेदनशीलता र बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न देशमै सैनिक तथा गैर–सैनिक अधिकारीहरूलाई उच्च शिक्षा र तालिम प्रदान गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । 

बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गरेका छन् । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरेकी थिइन् ।