नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

Image

नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा तय भएको महाधिवेशन दुई दिन पर सारेर असोज १८ गतेबाट हुने भएको हो । 

महाधिवेशनको उद्‌घाटन समारोह आगामी असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा हुने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार महाधिवेशन अन्तर्गत वडा, गाउँपालिका र नगरपालिका स्तरका अधिवेशनहरू सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनहरू सम्पन्न हुने क्रममा रहेका छन् । 

यसै बीचमा देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको जनाइएको छ ।