सेयर बजारमा लगातार गिरावट : नेप्से ९.६२ अंकले घट्यो

Image

धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः ९.६२ अंकले ओरालो लागेर २६०३.७१ विन्दुमा बन्द भएको हो । कारोबार सुरु भएदेखि नै घट्न थालेको सूचक दिनभरि नै प्रायः राताम्मे रह्यो ।

यस दिन बजारले २५ सयको विन्दुमा बलियो टेवा (सपोर्ट) पाएर फर्किएको देखिन्छ । दिनभरको कारोबारमा सूचक अधिकतम २६१४ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २५८८ विन्दुसम्म ओर्लिएको थियो । 

कारोबारको अन्तिम समयमा लगानीकर्ताहरू सम्हालिँदा नेप्से सूचक एकल अंकको गिरावटमा रोकिन सफल भयो ।

यस दिन बजारमा कुल चार अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको २२ करोड ९९ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । 

केही दिनयता यस कम्पनीको सेयरमा लगानीकर्ताहरूको आकर्षण देखिए पनि आज मूल्यका आधारमा भने यो कम्पनी अगाडि आउन सकेन ।

आज सबैभन्दा धेरै मूल्य बढ्ने सूचीमा आईसीएफसी फाइनान्सको डिबेन्चर अग्रस्थानमा रह्यो । यसको मूल्य ९.१८ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.७९ प्रतिशतले वृद्धि भएको छ । 

यता, घट्नेमा भने म्युचुअल फन्डहरू अगाडि देखिएका छन् । आज सिटिजन्स सुपर ३० को मूल्य ५.४४ प्रतिशत र आरबीबी म्युचुअल फन्डको मूल्य ४.६७ प्रतिशतले घटेको छ ।

समग्रमा आज कारोबारमा आएका ३६३ मध्ये ६९ कम्पनीको मूल्य बढेको छ भने १९९ वटाको मूल्य घटेको छ ।