कतारको राजधानी दोहामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकका दौडान दुई देशका अर्थमन्त्रीबीच भेटवार्ता भएको हो।
‘नयाँ दिल्ली भेटमा भएको हाम्रो छलफललाई निरन्तरता दिँदै फेरि भेट्न पाउँदा खुसी छौँ’, वित्तमन्त्री सीतारमणले भेटबारे उल्लेख गरेकी छिन्, ‘नेपालको भर्खरैको बाढीपछिको पुनर्निर्माण र पुनरुत्थानका लागि नेपालको आकलन र प्राथमिकताबारे छलफल भयो।’
भारतले नेपाललाई यस्तो बेला गर्न सक्ने सहयोगबारे पनि छलफल भएको उनले बताएकी छिन्। यसका लागि दुवै पक्ष सक्रिय संवादमा रहेको बताउँदै उनले नयाँ दिल्ली बैठकका बेला लिइएका योजनाहरुको प्रगति समीक्षा पनि गरेको जानकारी दिइन्।
त्यसैगरी यूपीआई–एनपीआईको सुरुवाती सञ्चालन र उपयोगिताबारे छलफल गरेको उल्लेख गर्दै उनले दुवै देशले यसबाट फाइदा लिनसक्ने बताएकी थिइन्।














