अदालतमा मुद्दा रहेकाले महाप्रबन्धक नियुक्ति गर्न सकिएन : मन्त्री पौडेल

Image

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण नेपाल एयरलाइन्सको अवस्था बिग्रिएको बताएका छन् । 

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको  बैठकमा मन्त्री पौडेलले नेपाल एयरलाइन्स विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण बिग्रिएकाले हाल सकारात्मक हस्तक्षेपको अपेक्षा गरिएको बताए । 

उनले महाप्रबन्धक नियुक्तिको प्रक्रियासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले महाप्रबन्धक नियुक्ति गर्न कानुनी अड्चन भएको धारणा राखे । हाल निगमको ६ वटा जहाजमध्ये एउटामा मात्रै समस्या आउँदा पनि उडान तालिका फेरबदल गर्न र यात्रु व्यवस्थापन गर्न ठूलो बजेट खर्च हुने गरेको उनले बताए । 

उनले विद्यमान परिपाटी र संरचनाबाट मात्र जहाज थपेर समस्या समाधान नहुने भएकाले पहिला संरचनागत सुधार आवश्यक रहेकोमा जोड दिए । 

नेपाल एयरलाइन्सलाई अगाडि बढाउन एउटा साहसिलो निर्णयको खाँचो रहेको भन्दै उनले सरकारी निर्णयले मात्र सम्भव नरहेको उल्लेख गरे ।