सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट ल्याएको छ । नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले चालु वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
मल्लले तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएको आकारमै बजेट प्रस्तुत गरे । सरकारले स्रोत व्यहोर्ने शिर्षकमा आन्तरिक राजश्व परिचालन एक अर्ब ७२ करोड, नेपाल सरकारबाट प्राप्त हुने १० अर्ब २४ करोड, संघीय रोयल्टी बाँडफाँडबाट ७ करोड, नेपाल सरकारको वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख र अघिल्लो आर्थिक वर्षबाट बचन हुने ९ अर्ब ३५ करोड र संघीय सर्शत अनुदानबाट छ अर्ब ३ करोड अनुमान गरिएको छ ।
संघीय समपूरक अनुदानबाट ३८ करोड र विशेष अनुदानबाट ५२ करोड अनुमान गरिएको छ । तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले १ असारमा ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि एमाले र नेकपाको गठबन्धन सरकार बनेको थियो ।
एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेको दुई महिनापछि बजेट आएको हो ।















