आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई ११३ रनले पराजित गरेको छ । नेपालले दिएको २ सय ६४ रनको लक्ष्य ओमनले ४० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनायो ।
ओमनका लागि विनायक शुक्लाले ७७ रनको योगदान दिएपनि टिमलाई हारबाट जोगाउन सकेनन् । ८३ बलको सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, ओमनका जय ओडेद्राले ५७ बलमा २५ रन बनाए । शुक्ला र ओडेद्राको जोडीले सातौँ विकेटका लागि ११९ बलमा ८३ रनको पार्टनरसिप गरेको थियो ।
ओपनर जतिन्दर सिंहले १८ रन बनाउनुबाहेक ओमनका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान ३ विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २ तथा ललीत राजवंशी र करण केसीले समान एक विकेट लिए ।
यसअघि ओमनको अल अमारात मैदानमा मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यसअघि क्यानडाविरुद्धको खेलमा रोहितले शतक प्रहार गरेका थिए ।
सातौँ क्रममा क्रिजमा आएका करण केसीले विष्फोटक ब्याटिङ गरे । १६ बलमा ४० रन प्रहार गरेका उनी इनिङको अन्तिम बलमा रन आउट हुन पुगे । उनले ४९ औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा उनले हस्नैन अलीलाई लगातार छक्का प्रहार गरे ।
त्यस्तै, अर्जुन कुमालले ५९ बलमा ४० रन जोडे । बसिर अहमद र डा. ईशान पाण्डेले समान ३७ रन बनाए । बलिङतर्फ ओमनका शाह फैसल, करण सोनावाले, शकील अहमदले समान दुई विकेट लिए भने हस्नैन शाहले एक विकेट झारे ।














