बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

Image

बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

शास्त्रीय विधिअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा आराधना गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीले शरणमा आएका भक्तजनका आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीनै प्रकारका ताप तथा कष्ट हटाउनुहुन्छ।

दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा त्रिविध तापयुक्त संसार देवी कुष्माण्डाको उदरमा रहेको उल्लेख गरिएको छ। विभिन्न पुराणमा कुष्माण्डा देवीले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने वर्णनसमेत गरिएको छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जौको जमरा राखेर नवदुर्गाको पूजा आराधना सुरु गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएकोमा चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।

शास्त्रीय परम्पराअनुसार नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी र इन्द्रायणी मन्दिरमा भक्तजन पुग्ने गरेका छन्।

त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्छ।

नवरात्रका नौ दिन पूजा आराधना गरेपछि प्रसाद ग्रहण गर्ने तथा मान्यजनबाट टीका र जमरा लगाउने परम्परासहित नेपालीले विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म बडादसैँ पर्व मनाउँछन्।