नबिल बैंक लिमिटेडले मोबाइल एपबाटै प्राप्त गर्न र क्यूआरमार्फत भुक्तानी गर्न सकिने ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले २९ असोजदेखि एनबैंक एपमार्फत यो सेवा उपलब्ध गराएको हो ।
बैंकका अनुसार योग्य ग्राहकले एनबैंक एपको होमपेजमा रहेको ‘अपलाइनाउ’ विकल्पमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन र कार्ड प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्नै तथ्यांकमा आधारित विश्लेषण प्रणालीमार्फत योग्य ग्राहकलाई पूर्वस्वीकृति दिएकाले उनीहरूले एपमा उक्त विकल्प देख्न सक्नेछन् ।
भर्चुअल क्रेडिट कार्डबाट फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यसबाट ग्राहकले परम्परागत क्रेडिट कार्डका लागि आवश्यक कागजी प्रक्रिया र अन्य औपचारिकता पूरा नगरी डिजिटल माध्यमबाटै क्रेडिट सुविधा उपयोग गर्न सक्ने बैंकको भनाइ छ ।
यस सेवा सञ्चालनका लागि नबिल बैंक र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सहकार्यसँगै ग्राहकले फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानमा भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्न सक्नेछन् ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई सहज बैंकिङ सेवा उपलब्ध गराउनु बैंकको प्राथमिकता रहेको बताए ।
डिजिटल प्रविधिको उपयोगमार्फत बैंक शाखामा पुग्नुपर्ने आवश्यकता कम गर्ने प्रयासअन्तर्गत भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याइएको उनको भनाइ थियो ।
बैंकले डिजिटल वित्तीय सेवाको बढ्दो मागलाई ध्यानमा राखेर नयाँ सेवा सुरु गरिएको जनाएको छ । यसले ग्राहकलाई सरल र सुरक्षित भुक्तानीको सुविधा उपलब्ध गराउने अपेक्षा बैंकको छ ।
नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटीएममार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार उसले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।














