गण्डकी प्रदेशमा औषधिजन्य जडीबुटी उत्पादन बढ्यो १३५ प्रतिशत

Image

गण्डकी प्रदेशमा औषधिजन्य जडीबुटी उत्पादनमा उल्लेख्य सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गण्डकीमा जडीबुटी उत्पादन १३५.५४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ५.०१ प्रतिशत रहने अनुमान छ ।

यस प्रदेशको कुल गार्हस्थय उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: २६.३ प्रतिशत, १८.४ र ५५.३ प्रतिशत रहने अनुमान छ ।

गत आव गण्डकीका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको कुल क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब ४.६४ प्रतिशत ह्रास आई ४ लाख ६ हजार ४० हेक्टर कायम भएको अध्ययनले औँल्याएको छ ।

मसला, चिया र कफी खेतीले ढाकेको क्षेत्रफल क्रमश: २.१२, ३.०९ र २१.४७ प्रतिशत वृद्धि भएको छ भने खाद्य, नगदे तथा अन्य बाली, तरकारी र फलफूल खेतीले ढाकेको क्षेत्रफल क्रमश: ४.६१, ८.३० र ४.०३ प्रतिशत घटेको छ ।

गत आव प्रमुख कृषि बालीको कुल उत्पादनमा २.६५ प्रतिशत ह्रास आई १८ लाख २४ हजार ४ सय ४२ टन कायम भएको छ । खाद्य, नगदे तथा अन्य बाली, तरकारी, फलफूल र मसला बाली उत्पादन क्रमश: ०.८३, ७.९४, ५.८४ र ७.११ प्रतिशत कमी आएको छ भने कफी, मह र चिया उत्पादनमा क्रमश: ५२.६१, ५२.६० र ८.९६ प्रतिशत वृद्धि भएको छ ।

त्यस्तै पशुजन्य उत्पादनतर्फ दूध, मासु र अण्डा उत्पादनमा क्रमश: ३.२९, ३.४४ र ८.५५ प्रतिशतले ह्रास आएको छ भने माछा उत्पादन ४.६१ प्रतिशत वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठ ३०.०२, दाउरा ८.७७ र औषधिजन्य वस्तु (जडीबुटी) उत्पादन १३५.५४ प्रतिशत वृद्धि भएको अध्ययन प्रतिवेदनमा छ ।

गण्डकीमा बैंक तथा वित्तीय संस्थाले कृषि, वन र माछापालन क्षेत्रमा प्रवाह गरेको कर्जामा ४.४८ प्रतिशत ह्रास आई २२ अर्ब ९९ करोड पुगेको छ । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ६.३२ प्रतिशत हो ।

अध्ययनमा समेटिएका नमुना उद्योगको भारित औसत उत्पादन क्षमता उपयोग ०.९८ प्रतिशत वृद्धि भई ४६.५४ प्रतिशत पुगेको छ । गत आव सोही अवधिमा यस्तो अनुपात ४६.०९ प्रतिशत थियो ।

गत आव तोरी तेल, प्रशोधित दूध, बिस्कुट, चकलेट, चाउचाउ, बियर, ट्याब्लेट औषधि, क्याप्सुल औषधि, ओइन्टमेन्ट, ड्राई सिरप औषधि र इँटा उत्पादनमा क्रमश: २०.९७, २२.८०, ५.१५, ५१.२७, ७.४६, २.९२, १४.१८, ०.९३, २५.२७, २५.३५ र ५.९८ प्रतिशतले वृद्धि भएको छ भने चुरोट, लिक्विड औषधि र सिमेन्ट उत्पादन क्रमश: ४.६१, १.०९ र ३.७० प्रतिशत ह्रास आएको छ ।

गत आव बैंक तथा वित्तीय संस्थाले गण्डकीमा प्रवाहित कुल कर्जाको ७.९९ प्रतिशत अर्थात् २९ अर्ब ९ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।

गण्डकीका होटलमा विदेशी पर्यटक आगमन संख्या ९१ हजार ६ सय ३७ छ । त्यस्तै होटल शैया बिक्री संख्या २.९३ प्रतिशत वृद्धि भई ९८ हजार ११ पुगेको छ भने अकुपेन्सी ३५.२७ प्रतिशत छ ।

अघिल्लो आवमा यस्तो दर ३६.१३ प्रतिशत थियो । होटलको कुल शैया संख्या ५.५ प्रतिशत वृद्धि भई २ लाख ७७ हजार ९ सय २० पुगेको छ ।

गत आव पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २३ वटा हवाई सेवा कम्पनी मार्फत १३ हजार २ सय ८१ पटक उडान भएको छ । यो अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशत कम हो । हवाई कम्पनीको सिट उपयोग क्षमता ७८.६७ प्रतिशत छ । कुल उडान गर्ने यात्रु संख्या ४ लाख ३४ हजार ३ यस २० छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १८.७ प्रतिशत वृद्धि भई ७ खर्ब २६ अर्ब ६३ करोड पुगेको छ । कुल कर्जा प्रवाह १.९ प्रतिशत वृद्धि भई ३ खर्ब ६३ अर्ब ८३ करोड पुगेको छ ।

सेवा क्षेत्र अन्तर्गत पर्यटन क्षेत्रमा प्रवाहित कर्जा १.६० प्रतिशत वृद्धि भई २४ अर्ब २८ करोड पुगेको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये कालीगण्डकी करिडोर अन्तर्गत मालढुङ्गा–गैँडाकोट खण्डको भौतिक प्रगति करिब ७३.१५ प्रतिशत र बेनी–जोमसोम खण्डको भौतिक प्रगति करिब ६५ प्रतिशत छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा–लमजुङ खण्डको भौतिक प्रगति ८५ प्रतिशत र कास्की–पर्वत–बागलुङ खण्डको भौतिक प्रगति ८५ प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।