नेपाल क्रिकेट संघ (क्यान) को व्यवस्थापन तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा नेपालमा आईसीसी एसिया कन्फ्रेन्स हुने भएको छ।
आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म आईसीसी एसिया कन्फ्रेन्स हुने क्यानका सचिव पारस खड्काले जानकारी दिए।
सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरूका साथै एसोसिएट सदस्य राष्ट्रहरूका आधिकारिक प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय क्रिकेट समुदायका उच्चपदस्थ अतिथिहरू सहभागी हुनेछन्।
क्रिकेटको विकास, विस्तार, आपसी सहकार्य तथा खेलको दिगो प्रवद्र्धनका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको यस सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप सुदृढ रूपमा स्थापित गराउने क्यानको विश्वास छ।
देशको पर्यटन क्षेत्रको विकासमा समेत उल्लेख्य योगदान पुर्याउने विश्वास र सफल आयोजनाबाट नेपाली क्रिकेटको संस्थागत विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम थपिने पनि सचिव खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सम्मेलनका अवसरमा सहभागी हुन नेपाल आउने विदेशी प्रतिनिधिहरूले नेपालमा सञ्चालन भइरहेको तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतका इलिमिनेटर तथा फाइनल खेलहरूको समेत प्रत्यक्ष अवलोकन गर्ने क्यानले जनाएको छ।














