न्युजिल्यान्डमा एक नेपाली विद्यार्थीलाई कोकिन तस्करी मुद्दामा अदालतले जेल सजाय तोकेको छ। विद्यार्थी भिसामा न्युजिल्यान्ड पुगेका नेपाली विद्यार्थी २७ वर्षीय अनुराग मास्केलाई त्यहाँको पुनरावेदन अदालतले ५ वर्ष ७ महिना जेल सजाय तोकेको हो ।कोकिन आयातसम्बन्धी मुद्दामा अकल्यान्ड जिल्ला अदालतले गत वर्ष मार्चमा उनलाई ६ वर्ष ४ महिना जेल सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध उनले पुनरावेदन दिएका थिए।
पुनरावेदन अदालतले सजाय घटाएर ५ वर्ष ७ महिना कायम गरेको हो। जेल सजाय भुक्तान गरेपछि उनलाई न्युजिल्यान्डबाट नेपाल फर्काइने बताइएको छ। मास्के सन् २०१८ को मे महिनामा १९ वर्षको उमेरमा विद्यार्थीका रूपमा न्युजिल्यान्ड पुगेका थिए। उनले त्यहाँ सूचना प्रविधिमा डिप्लोमा पूरा गरेका थिए। तर, अध्ययनअनुसारको रोजगारी नपाएपछि उनले सामान्य मजदुरीको काम गर्न थालेका थिए। यसै क्रममा गम्भीर आर्थिक समस्यामा परेपछि उनी लागुऔषध तस्करीमा संलग्न भएको बताइएको छ।
अदालतमा प्रस्तुत विवरणअनुसार सन् २०२२ को जनवरीदेखि जुलाईसम्म मास्केले १.५७६ किलोग्राम कोकिनको आयात तथा तस्करीमा सहयोग गरेका थिए। उनले बेलायत र नेपालका आपूर्तिकर्तामार्फत पठाइएका कोकिन भरिएका ६ वटा पार्सल बुझेका थिए। त्यसक्रममा उनले सामान काट्ने मेसिनसमेत प्रयोग गरेका थिए।
सन् २०२२ को अप्रिलमा उनका मुख्य योजनाकारले न्युजिल्यान्ड छाडेपछि मास्के तस्करीको मुख्य आयोजकको भूमिकामा पुगेको विवरणमा उल्लेख छ। प्रहरीले मास्केको घरमा छापा मार्दा जिपलक ब्यागमा राखिएको २१९ ग्राम कोकिन, सेतो धुलोको अवशेष रहेका अन्य झोला र इलेक्ट्रोनिक तराजु बरामद गरेको थियो।
त्यसैगरी, उनको मोबाइल फोनबाट नेपालमा रहेका आपूर्तिकर्तासँग लागुऔषध आयातबारे भएका कुराकानी, पार्सल तथा सामानका तस्बिर, कोकिनको शुद्धता जाँच्ने किट र ट्र्याकिङ नम्बरसम्बन्धी प्रमाणसमेत भेटिएको थियो ।















