अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारपछि लेखनका लागि पुलित्जर पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले एक सभामा उनले रुससँग सम्बन्धित अनुसन्धानात्मक समाचारका लागि पुलित्जर पुरस्कार पाएका पत्रकारहरूको आलोचना गर्दै उनीहरूले गलत समाचार लेखेको आरोप लगाए ।
ट्रम्पले विभिन्न युद्ध रोक्न आफूले भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार नपाएको विषयमा पनि असन्तुष्टि दोहोराएका थिए । उनले अहिलेसम्म १९ वटा पुस्तक लेखिसकेका छन् । सन् १९८७ मा प्रकाशित उनको पुस्तक ‘द आर्ट अफ द डिल’ चर्चित छ ।
ट्रम्पको दाबीपछि सामाजिक सञ्जालमा उनको लेखन क्षमतामाथि प्रश्न उठाउँदै प्रयोगकर्ताहरूले व्यङ्ग्य गरेका छन् । पुलित्जर पुरस्कार पत्रकारिता, पुस्तक, नाटक र सङ्गीतका क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित सम्मान हो ।
सन् २०२६ को पुलित्जर पुरस्कारमा ट्रम्प प्रशासनका नीति र कामकारबाहीबारे समाचार लेखेका विभिन्न सञ्चारमाध्यम पनि सम्मानित भएका थिए। ‘द न्युयोर्क टाइम्स’, ‘द वासिङ्टन पोस्ट’, रोयटर्स र ‘द सिकागो ट्रिब्युन’ले ट्रम्प प्रशासनका निर्णय, निजी स्वार्थ र आप्रवासनसम्बन्धी कारबाहीका विषयमा गरेको रिपोर्टिङका लागि पुरस्कार पाएका थिए ।
यसअघि सन् २०१८ मा ‘द न्युयोर्क टाइम्स’ र ‘द वासिङ्टन पोस्ट’ले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेप तथा ट्रम्पको चुनावी टोलीसँगको सम्बन्धबारे गरेको रिपोर्टिङका लागि पुलित्जर पुरस्कार पाएका थिए । ट्रम्पले ती समाचार गलत भएको भन्दै पुरस्कार फिर्ता लिन माग गरेका थिए ।
तर सन् २०२२ मा पुलित्जर पुरस्कार बोर्डले उनको माग अस्वीकार गरेको थियो । बोर्डले पुरस्कार पाएका समाचार पछि गलत प्रमाणित भएको देखाउने कुनै प्रमाण नभेटिएको जनाएको थियो ।













