संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार जारी राखेको आरोप लगाएको छ । आयोगले इजरायली अधिकारी र सेनामाथि युद्ध अपराध तथा मानवताविरुद्धका अपराध गरेको आरोपसमेत लगाएको छ ।
अक्टोबर २६ मा सार्वजनिक प्रतिवेदनमा आयोगले गाजामा युद्धविराम सम्झौता भए पनि प्यालेस्टिनी जनतालाई पूर्ण वा आंशिक रूपमा नष्ट गर्ने उद्देश्यले नरसंहारका कार्य जारी रहेको जनाएको छ । पश्चिम किनारमा पनि प्यालेस्टिनीको हत्या, उत्पीडन तथा उनीहरूलाई शारीरिक र मानसिक क्षति पुर्याउने घटनामा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्तुत प्रतिवेदनअनुसार इजरायली अधिकारी र सेनाले प्यालेस्टिनी नागरिकलाई जानाजानी निशाना बनाएका छन् । प्रतिवेदनमा विनाश, उत्पीडन, यातना, बलात्कार र अन्य प्रकारका यौन हिंसासम्बन्धी आरोपसमेत समेटिएका छन् ।
आयोगका अनुसार सन् २०२३ अक्टोबर ७ देखि पश्चिम किनारमा हवाई आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने क्रम बढेको छ । सन् २००८ देखि २०२३ अक्टोबर ६ सम्म हवाई आक्रमणमा छ जना प्यालेस्टिनीको मृत्यु भएको थियो । तर, सन् २०२३ अक्टोबर ७ देखि २०२६ सेप्टेम्बर ३० सम्ममा हवाई आक्रमणबाट २५४ जना प्यालेस्टिनीको मृत्यु भएको आयोगले जनाएको छ ।
प्रतिवेदनमा प्यालेस्टिनीलाई राष्ट्रियता, जातीयता, लिङ्ग र उमेरका आधारमा निशाना बनाइएको उल्लेख छ । आयोगले गाजामा जस्तै पश्चिम किनारमा पनि इजरायली सेनाले बालबालिकाको जानाजानी हत्या गरेको र उनीहरूलाई गम्भीर शारीरिक तथा मानसिक क्षति पुर्याएको आरोप लगाएको छ । प्यालेस्टिनी बालबालिकामाथि उमेरका आधारमा उत्पीडन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार गाजामा गरिएको लक्षित आक्रमणमा हमास र प्यालेस्टिनी इस्लामिक जिहादसँग सम्बन्धित चार जना लडाकू मारिएको जनाएको छ ।
सेनाले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको विवरणअनुसार आइतबारको कारबाहीमा तीन जना मारिएका थिए । मारिनेमा इस्लामिक जिहादका अला अबु जैद र हमदान सुलेमान इब्राहिम अबु अमरा तथा हमासका स्नाइपर फावजी सलाम ओदात अल्लाह सवाहा रहेको सेनाले जनाएको छ ।














