बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने पूर्वानुमान गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुन सक्ने भन्दै सरकारले उच्च सतर्कता अपनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार बिहीबार रातिदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउन सम्बन्धित निकाय र सुरक्षा अंगलाई भनिएको छ । पहिलेदेखि नै जोखिम पहिचान भएका क्षेत्रमा विशेष सावधानी अपनाउनसमेत निर्देशन दिइएको उनले बताएका छन् ।
भारतको मौसम विभागका अनुसार चक्रवात बुधबार बिहानसम्म आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । चक्रवातका कारण प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरको गतिमा हावा चल्न सक्ने र यसको गति बढेर प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै भारतका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाइएको छ । दक्षिण तटीय रेलवेले अक्टोबर २७ र २८ मा सञ्चालन हुने ५३ वटा रेल सेवा रद्द गरेको छ । विशाखापटनम र विजयवाडा आउने–जाने उडान प्रभावित हुन सक्ने भन्दै एयर इन्डियाले यात्रुलाई उडानको अवस्था जाँच गरेर मात्रै विमानस्थल जान आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बिहीबार रातिदेखि बंगालको खाडीमा विकसित चक्रवातको अप्रत्यक्ष असर देखिन थाल्नेछ ।
बुधबार कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ ।
बिहीबारदेखि कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
शुक्रबार र शनिबार भने चक्रवातको प्रभाव तुलनात्मक रूपमा बढी देखिने अनुमान छ । ती दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा हुन सक्नेछ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेको वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताएकी छन् ।
मौसमविद्का अनुसार चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिने भएकाले वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाकी प्रवक्ता विभूति पोखरेलले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको तर सतर्क रहनुपर्ने बताएकी छन् । वर्षा र हिमपातका कारण हिमाली तथा पहाडी क्षेत्रमा जनजीवन, सडक यातायात र दैनिक गतिविधि प्रभावित हुन सक्ने भएकाले मौसमको अद्यावधिक सूचना हेर्न र आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेकी छन् ।
यसैबीच, विपद् प्राधिकरणले चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन भनेको छ । जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन र सम्भावित विपद्का घटनामा तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन सुरक्षा निकायलाई आग्रह गरिएको छ ।















