शक्तिशाली चक्रवात अर्नबका कारण भारतको आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ वटा घरमा क्षति पुगेको छ । चक्रवातबाट तटीय राज्य आन्ध्र प्रदेशका ७१४ वटा गाउँ प्रभावित भएका छन् ।
भारतको राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का महानिरीक्षक नरेन्द्र सिंह बुन्देलाका अनुसार चक्रवातबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि विभिन्न स्थानमा टोली परिचालन गरिएको छ ।
उनले पत्रकार सम्मेलनमा आन्ध्र प्रदेशसहित विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशमा गरी कुल ३९ वटा एनडीआरएफ टोली खटाइएको जानकारी दिए । उनका अनुसार गएराति थप चार वटा टोली आन्ध्र प्रदेश पठाइएको छ ।
सात राज्य र केन्द्रशासित क्षेत्रमा उद्धार टोली परिचालन
चक्रवातबाट बढी प्रभावित हुने अनुमान गरिएका आन्ध्र प्रदेश र ओडिशासहित छत्तीसगढ, झारखण्ड, तेलङ्गाना, पुडुचेरी तथा अन्डमान र निकोबार द्वीपसमूहमा पनि एनडीआरएफका टोली परिचालन गरिएको छ ।
प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सम्भावित जोखिम न्यूनीकरणका लागि टोलीहरू तयारी अवस्थामा राखिएका छन् ।
तटीय क्षेत्रमा ठोक्किएपछि कमजोर हुँदै चक्रवात
चक्रवात अर्नब भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको थियो । तटमा ठोक्किनुअघि अति गम्भीर चक्रवाती आँधीका रूपमा रहेको यो प्रणाली जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै गम्भीर चक्रवातमा परिणत भएको जनाइएको छ ।
चक्रवातका कारण आन्ध्र प्रदेशमा जनधनको क्षति हुनुका साथै तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् । उद्धार तथा राहत टोली परिचालन गरेर प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउने प्रयास भइरहेको छ ।
चक्रवात कमजोर हुँदै गए पनि प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन उद्धार निकायहरूलाई सतर्क अवस्थामा राखिएको छ ।














