नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामै करिब साढे २ अर्ब रुपैयाँ बराबरको भाइ मसला तथा सुक्खा फलफूल नेपाल भित्रिएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार ओखर, नरिवल, बदाम, काजु र किसमिसको आयातमा मात्रै तीन महिनाको अवधिमा २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ विदेशिएको हो । उक्त आयातबाट सरकारले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
तिहारमा भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा भाइ मसला दिने प्रचलन छ । यही परम्पराका कारण चाडपर्वको समयमा सुक्खा फलफूल तथा मसलाको माग उच्च हुने गरेको छ ।
भन्सार विभागको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा बढी रकम ओखर आयातमा खर्च भएको छ । यस अवधिमा १५ लाख २५ हजार २५० किलोग्राम ओखर ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँमा आयात भएको छ । ओखर आयातबाट सरकारले १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । यसको मुख्य आपूर्तिकर्ता चीन र अमेरिका हुन् ।
त्यस्तै, परिमाणका आधारमा सबैभन्दा धेरै नरिवल आयात भएको छ । तीन महिनामा १ करोड १४ लाख ६ हजार २०७ किलोग्राम नरिवल ५६ करोड ६० लाख ७० हजार रुपैयाँमा नेपाल भित्रिएको छ । यसबाट ११ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नरिवलको आयात पूर्ण रूपमा भारतमा निर्भर रहेको तथ्याङ्कले देखाउँछ ।
यसैगरी, ५ लाख ९ हजार ७८ किलोग्राम बदाम आयात गर्दा ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ विदेशिएको छ । यसबाट सरकारले ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । बदामको अधिकांश आयात अमेरिकाबाट भएको छ ।
भाइ मसलामा लोकप्रिय काजु आयातमा पनि ठूलो रकम खर्च भएको छ । तीन महिनामा ४ लाख ६९ हजार ५१६ किलोग्राम काजु ४६ करोड ५७ लाख २६ हजार रुपैयाँमा आयात भएको छ । यसबाट १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । काजु मुख्य रूपमा भारत र भियतनामबाट आयात गरिएको छ ।
त्यस्तै, ७ लाख ३३ हजार ५९८ किलोग्राम किसमिस आयात गर्दा २७ करोड ६३ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट ६ करोड ७१ लाख ९६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । किसमिसको मुख्य आपूर्तिकर्ता चीन र भारत रहेका छन् ।
गत वर्ष साढे ४ अर्बको सुक्खा फलफूल आयात
गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालले सुक्खा फलफूल तथा नरिवल आयातमा ४ अर्ब ४४ करोड ६६ लाख ७७ हजार रुपैयाँ खर्च गरेको थियो ।
भन्सार विभागका अनुसार उक्त अवधिमा कुल ३ करोड ६८ लाख ४८ हजार ४४५ किलोग्राम सुक्खा फलफूल तथा नरिवल आयात भएको थियो । त्यसबाट सरकारले ९२ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत आर्थिक वर्ष रकमका आधारमा सबैभन्दा बढी किसमिस आयात भएको थियो । वर्षभरिमा ३३ लाख १० हजार ३३ किलोग्राम किसमिस आयात गर्दा १ अर्ब २२ करोड ९९ लाख ५९ हजार रुपैयाँ विदेशिएको थियो । किसमिसको अधिकांश हिस्सा चीनबाट आयात भएको थियो ।
त्यस्तै, बदाम आयातमा ९० करोड १७ लाख ४ हजार रुपैयाँ खर्च भएको थियो । उक्त अवधिमा १० लाख ४१ हजार ९१३ किलोग्राम बदाम नेपाल भित्रिएको थियो । बदामको मुख्य आपूर्तिकर्ता अमेरिका रहेको छ ।
गत वर्ष ९ लाख ५३ हजार ९४९ किलोग्राम काजु आयात गर्दा ८७ करोड ७० लाख २३ हजार रुपैयाँ खर्च भएको थियो । काजु आयातमा भियतनाम र भारत प्रमुख स्रोत मुलुक रहेका थिए ।
परिमाणका आधारमा गत वर्ष पनि नरिवल सबैभन्दा अगाडि थियो । एक वर्षमा ३ करोड ११ लाख ७७ हजार ८३२ किलोग्राम नरिवल आयात गर्दा १ अर्ब ५ करोड ८४ लाख रुपैयाँ विदेशिएको थियो । नरिवलको आयात लगभग शतप्रतिशत भारतबाट भएको थियो ।
यसैगरी, बोक्रा नभएको ओखर आयातमा ३७ करोड ९५ लाख ८१ हजार रुपैयाँ खर्च भएको थियो । ३ लाख ६४ हजार ७१८ किलोग्राम ओखर आयात भएकोमा यसको अधिकांश हिस्सा चीनबाट आएको थियो ।
चाडपर्वसँगै बढ्छ आयातको चाप
तथ्याङ्कले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सुक्खा फलफूल तथा नरिवलको आयातमा भएको खर्च गत आर्थिक वर्षको कुल वार्षिक आयात मूल्यको ५० प्रतिशतभन्दा बढी पुगेको देखाउँछ ।
तिहार, छठलगायतका चाडपर्वमा भाइ मसला तथा पूजाआजाका सामग्रीको माग बढ्ने भएकाले आयातमा समेत उल्लेख्य वृद्धि हुने गरेको छ ।
नेपालमा खपत हुने यस्ता वस्तुको ठूलो हिस्सा चीन, अमेरिका, भारत र भियतनामलगायत मुलुकबाट आयात हुने गरेको छ । यसले चाडपर्वका बेला सुक्खा फलफूल तथा मसलाको माग धान्न नेपालले बर्सेनि अर्बौं रुपैयाँ विदेश पठाउनुपर्ने अवस्था रहेको देखाएको छ ।














