टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

Image

टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल कारखानामा भएको विस्फोटमा परी १७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

सोमबार आलियागास्थित हाबास डेमिर सेलिक स्टिल कारखानामा भएको उक्त दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै कारखानाका कामदार रहेको अधिकारीहरूले बताएका छन् ।

स्थानीय गभर्नरका अनुसार दिउँसोको समयमा क्रेनमार्फत नयाँ बोयलर अर्को स्थानमा लैजाने क्रममा दुर्घटना भएको थियो । क्रेन खस्दा बोयलरसँग सम्बन्धित उपकरण भट्टीमा खसेपछि शक्तिशाली विस्फोट भएको थियो ।

घटनास्थलमा खिचिएका दृश्यमा कारखानाभित्र भीषण आगलागी भएको र आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सुरुमा दुर्घटनामा १६ जनाको मृत्यु भएको जानकारी दिएका थिए । पछि स्वास्थ्य मन्त्री केमल मेमिसोग्लुले गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेपछि मृतकको सङ्ख्या १७ पुगेको हो ।

हाबास टर्कीका प्रमुख स्टिल उत्पादक कम्पनीमध्ये एक हो ।