कर्णालीलाई हराउँदै लुम्बिनी लायन्स शीर्षस्थानमा

Image

A+AA-

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीले २० बल अगावै लक्ष्य भेट्टाएको हो । यस जितसँगै लुम्बिनी लायन्स ६ खेलबाट चार जित र एक बराबरीसहित ९ अंक जोडेर अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको काठमाडौँ गोर्खाज ८ अंकसहित दोस्रो स्थानमा छ ।

यता लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना कमजोर बनेको छ । सुरुवाती दुई खेलमा जित हात पारेको कर्णालीले त्यसपछि लगातार चार खेलमा पराजित भएको हो । कर्णाली ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ ।

लुम्बिनीका लागि डार्सी शर्टले सर्वाधिक ४६ रन बनाए । आसिफ शेख र कप्तान रोहित पौडेल १–१, सन्दीप जोरा ४ रनमै आउट भए ।

निरोशान डिकवेलाले १६ रन बनाए । उनले १३ बल खेली २ चौका प्रहार गरे । सामिम हुसैन ५ रनमै आउट भए । दीलिप नाथ २८ र रुबेन ट्रम्पलमन २ रन बनाई अविजित रहे ।

बलिङमा कर्णालीका लागि मार्क वाटले शानदार प्रदर्शन गरे । उनले ४ विकेट लिए । पवन सर्राफ र हुसेन तलतले १-१ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्रै बनाएकाे थियाे ।

कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन जोडे । कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।