नेपाल राष्ट्र बैंकले तिहारपछि बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य पुँजी) भएका कारण व्यवस्थापनस्वरुप २ खर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ ।
केन्द्रीय बैंकले आज शुक्रबार (कात्तिक २७ गते) बैंकिङ प्रणालीबाट उक्त बराबरको निक्षेप तान्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि पटक-पटक गरेर छोटो अवधिको निक्षेप संकलन गर्ने क्रममा यसपटक २० दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको जनाएको छ ।
आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ मंसिर १७ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । ब्याजदर आज २ बजे हुने अनलाइन बोलकबोलबाट निर्धारण हुने केन्द्रीय बैंकले बताएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।














