भीमफेदी दुर्घटनाका पीडितसँग सहमति, शव लैजाने तयारी

Image

मकवानपुरको भीमफेदीमा भएको गाडी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ। 

उनीहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने, अभिभावकविहीन बनेका बालबालिकालाई सहयोग गर्ने र पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था सरकारले गर्ने सहमति भएको हो। सहमति जुटेसँगै मृतकको शव पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। 

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये पाँच जनाको गएराति नै पोस्टमार्टम गरिएको थियो। दुर्घटनामा ज्यान गुमाएका चालकको पोस्टमार्टम सकिएपछि परिवारले शव बुझेर लगिसकेको छ। बाँकी नौ जनाको अहिले पोस्टमार्टम भइरहेको छ।

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई आवश्यक क्षतिपूर्ति दिने, अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा सहयोगको जिम्मेवारी लिने र पीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने विषयमा सरकारले जिम्मेवारी लिने सहमति भएको हो।

प्रधानमन्त्री कार्यालयले आजै विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा चासो देखाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले राहत र क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएका छन् ।

दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५ सय मिटर तल खस्दा १४ यात्रुको मृत्यु भएको थियो । दुर्घटनाको समयमा गाडीमा चालकसहित २० जना सवार थिए । ६ जना घाइते भएका छन् । उनीहरूको हेटौँडा, भरतपुर र काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा चालकसहित ६ पुरुष, २ महिला र ३ बालिका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सर्लाहीको शुक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय र अन्दाजी १७ वर्षका सुधेश यादव, सर्लाहीकै कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय चालक रविशंकर कुमार मण्डल छन् ।

अन्य मृतकहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका हुन् । मृत्यु हुनेमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, अन्दाजी ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव छन् ।