त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ बराबरको सेतो हेरोइन बरामद गरेको छ । थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट प्रहरीले साढे ५ किलो सेतो हेरोइन बरामद गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार शनिबार बिहान शङ्कास्पद गतिविधि देखिएपछि गरिएको जाँचका क्रममा उक्त लागुऔषध फेला परेको हो ।

प्रहरीले महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरेको छ । उनले ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाएर सेतो हेरोइन ल्याएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको प्रहरीको अनुमान छ । अनुसन्धान अधिकृतहरूका अनुसार सेतो हेरोइन प्रतिग्राम करिब ४० हजार रुपैयाँमा कारोबार हुने गरेको छ ।

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका टिघारे यसअघि दुई पटक लाओसबाट काठमाडौं आएर भारत गएको ट्राभल हिस्ट्रीसमेत फेला परेको छ । उनको यात्रा विवरणमा जिम्बाब्वे, सुडान, बंगलादेश र कम्बोडियाको भ्रमण गरेको देखिएको छ ।

एसएसपी बोहराका अनुसार प्रारम्भिक अनुसन्धानमा उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको खुलेको छ । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार सेतो हेरोइनको अवैध कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय तथा ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

पक्राउ परेका टिघारेमाथि उक्त ऐनअनुसार थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।