कोस्टारिकामा स्वतन्त्र पत्रकारको गोली हानी हत्या

Image

लागूऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्धबारे खोजमूलक समाचार प्रकाशित गर्दै आएका कोस्टारिकाका स्वतन्त्र पत्रकार क्यामिलो रोड्रिगेजको गोली हानी हत्या गरिएको छ ।

राजधानी सान जोसेनजिकैको सान्टो डोमिङ्गो डे हेरेडिया सहरमा सोमबार गाडी चलाइरहेका बेला ५० वर्षीय रोड्रिगेजमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए ।

प्रहरी प्रमुख राउल रिभेराका अनुसार रोड्रिगेजले यसअघि लागूऔषध तस्कर समूहबाट ज्यान मार्ने धम्की पाएका थिए । उनले लागूऔषध कारोबारी र राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिबीच सम्बन्ध रहेको दाबी गर्दै आएका थिए ।

राष्ट्रपति लौरा फर्नान्डिजले पत्रकारको हत्याको निन्दा गर्दै घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात भनेकी छन् । गत वर्ष रोड्रिगेजले आफ्नो घर लागूऔषध तस्करको पैसाबाट बनेको आरोप लगाएपछि राष्ट्रपतिले उनीविरुद्ध मानहानिको मुद्दा दायर गरेकी थिइन् ।

पत्रकार सङ्घले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गर्न माग गरेको छ । महान्यायाधिवक्ता कार्लो डियाजले हत्याबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार रोड्रिगेजले यसअघि साक्षी संरक्षण कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका थिए ।

पछिल्ला वर्षमा कोस्टारिका लागूऔषध तस्करीको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।