भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले १९ वर्ष लामो इन्डियन प्रिमियर लिग (आईपीएल) खेल जीवनबाट सन्न्यास लिएका छन्। फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स (सीएसके) ले मंगलबार धोनीलाई आगामी आईपीएल २०२७ का लागि टोलीको मेन्टर नियुक्त गरेको घोषणा गरेको हो।
आगामी डिसेम्बर १६ मा गोवामा हुने खेलाडी लिलामी (अक्सन) अघि खेलाडी रिलिज र रिटेन गर्ने समयसीमा सकिनु तीन घण्टाअघि चेन्नईले यस्तो घोषणा गरेको हो।
चेन्नई सुपर किंग्सका मालिक एन श्रीनिवासनले विज्ञप्ति जारी गर्दै धोनीबिना सीएसकेको कल्पना गर्न नसकिने बताएका छन्। ‘झन्डै दुई दशकदेखि हामीले जित, हार र हरेक उतारचढावमा सँगै यात्रा गरेका छौँ,’ उनले भनेका छन्, ‘सन् २००८ मा मैले धोनीलाई सीएसकेमा ल्याउनैपर्छ भनेर अडान लिएको थिएँ। त्यो मेरो जीवनकै उत्कृष्ट निर्णय साबित भयो। धोनी सधैँ हाम्रो पहिचानको हिस्सा रहनेछन्।’
पछिल्ला तीन सिजन प्लेअफमा पुग्न असफल भएपछि चेन्नईले आईपीएल २०२७ का लागि प्रशिक्षण टोलीमा व्यापक फेरबदल गरेको छ। ४५ वर्षीय धोनीले अब मुख्य प्रशिक्षक जहिर खान, सहायक प्रशिक्षकहरू अल्बी मोर्केल, ग्यारेथ ब्याटी र श्रीधरण श्रीराम, बलिङ प्रशिक्षक मोहित शर्मा तथा फिल्डिङ प्रशिक्षक जेम्स फोस्टरसँगै रहेर काम गर्नेछन्।
सन् २००८ को पहिलो अक्सनबाट चेन्नईमा आबद्ध भएका धोनी आईपीएल इतिहासकै सर्वाधिक सफल कप्तानमध्ये एक हुन्। उनकै कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ गरी पाँच पटक आईपीएल उपाधि जितेको थियो भने सन् २०१० र २०१४ मा च्याम्पियन्स लिगको उपाधि पनि उचालेको थियो।
आईपीएलका १९ सिजनमध्ये धोनीले १७ सिजन चेन्नईबाट खेले। चेन्नई दुई वर्ष निलम्बनमा पर्दा सन् २०१६ र २०१७ मा उनले राइजिङ पुणे सुपर जायन्ट्सको प्रतिनिधित्व गरेका थिए। धोनीले ५ हजार ४ सय ३९ रन बनाउँदै आफ्नो आईपीएल करिअर टुंग्याएका छन्। उनको ब्याटिङ औसत ३८.३० र स्ट्राइक रेट १३७.४५ रहेको छ।
सन् २०२२ को सिजनअघि रवीन्द्र जडेजालाई कप्तानी सुम्पिएका धोनीले टोलीको खराब प्रदर्शनपछि बीचमै पुनः नेतृत्व सम्हालेका थिए। उक्त सिजन नवौँ स्थानमा रहे पनि सन् २०२३ मा धोनीकै कप्तानीमा चेन्नईले पाँचौँ उपाधि जितेको थियो। २०२४ अघि कप्तानी छाडेपछि चेन्नई पाँचौँ स्थानमा रह्यो।
सन् २०२५ मा अनक्याप्ड खेलाडीका रूपमा रिटेन भएका धोनीले कप्तान ऋतुराज गायकवाड घाइते भएपछि पुनः कप्तानी सम्हालेका थिए। तर, उक्त सिजन चेन्नई अंकतालिकाको पुछारमा रह्यो भने धोनीले १३ खेलमा १ सय ९६ रन मात्र बनाउन सके। २०२४ र २०२५ मा तल्लो क्रममा सीमित भएका धोनी चोटका कारण आईपीएल २०२६ का कुनै पनि खेलमा मैदान उत्रिएका थिएनन्।














