कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा एउटा बाघ मृत अवस्थामा फेला परेको छ ।
मंगलबार दिउँसो वनमा घाँसदाउरा संकलन गर्न पुगेका स्थानीयले बाघ सडेको अवस्थामा मृत देखेपछि निकुञ्जलाई खबर गरेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली घटनास्थल पुगेको छ । उक्त सामुदायिक वन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार, घटनास्थलमा अहिले मुचुल्का संकलनको काम भइरहेको छ ।
मृत बाघलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि निकुञ्जमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए । बाघ के कारणले मरेको हो भन्ने विषय पोस्टमार्टमपछि मात्रै खुल्नेछ ।














