बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले ८ वर्ष कैद सजाय सुनाएको छ। अदालतले उनलाई १ करोड २६ लाख रुपैयाँ जरिवाना तिर्नसमेत आदेश दिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाशको एकल इजलासले गरेको फैसलाअनुसार सहकारीका अन्य सञ्चालकहरूलाई पनि कैद र जरिवाना तोकिएको छ।
अदालतले सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद तथा १ करोड २६ लाख रुपैयाँ जरिवाना सुनाएको छ। त्यसैगरी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद र १ करोड २६ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।
जिल्ला अदालत कास्कीका अधिकृत तारानाथ पोखरेलका अनुसार फैसलाको पूर्णपाठ तयार हुन बाँकी छ। पूर्णपाठ तयार भएपछि अदालतको वेबसाइटमा सार्वजनिक गरिनेछ।
यो फैसला इमेज सहकारीका ११० जना बचतकर्ताले दिएको जाहेरीका आधारमा भएको हो। उनीहरूले आफ्नो बचत रकम फिर्ता नपाएको भन्दै १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो मागदाबी गरेका थिए। सोही प्रकरणमा सहकारीका १५ जना सञ्चालकविरुद्ध मुद्दा दायर भएको थियो।
यसअघि नेपालीसहित सहकारीका सञ्चालकविरुद्ध ५२४ जना बचतकर्ताले जाहेरी दिएका थिए। उनीहरूले ५७ करोड ३५ लाख रुपैयाँ बिगो दाबी गरेका थिए। पछि सञ्चालकहरूले ४०० जना बचतकर्तासँग मिलापत्र गरेपछि उनीहरूको जाहेरी फिर्ता भएको थियो। मिलापत्र हुन नसकेका ११० जना बचतकर्ताले दिएको पूरक जाहेरीका आधारमा अदालतले फैसला गरेको हो।
नेपालीले पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेका थिए। दुवै सहकारीबाट गरी करिब २ अर्ब रुपैयाँ अपचलन भएको आरोपमा बचतकर्ताले सम्बन्धित जिल्लामा उजुरी दिएका थिए।
कास्की जिल्ला अदालतमा दायर अभियोगपत्रका आधारमा कात्तिक १७ गते फैसला भएको हो। यद्यपि, बागलुङमा परेको जाहेरीसम्बन्धी मुद्दा भने जिल्ला अदालत बागलुङमा अझै विचाराधीन छ।
सहकारी ठगीको आरोप लागेपछि फरार भएका नेपाली करिब डेढ वर्षपछि पक्राउ परेका थिए। उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको थियो। २०८१ असोज ११ गते भारतबाट पक्राउ गरी उनलाई नेपाल ल्याइएको थियो। उनी हाल जिल्ला अदालत बागलुङको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्।
नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटन नगरपालिकाको मेयर निर्वाचित भएका नेपाली इमेज सहकारी स्थापना गर्नुअघि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा आबद्ध थिए। उनी सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका बेला सञ्चालक जीबी राईसँग मतभेद भएपछि आफ्नो समूहसहित अलग भएर इमेज सहकारी स्थापना गरेका थिए।
इमेज सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले फैसला सुनाए पनि सूर्यदर्शन सहकारीको मुद्दा भने अझै अदालतमा विचाराधीन छ। उक्त सहकारीका सञ्चालक जीबी राई हालसम्म फरार छन्।














