प्रधानमन्त्री वालेन्द्र शाह भारतको राजकीय भ्रमणमा जाँदा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।
प्रधानमन्त्री शाह आइतबार (मंसिर ६ गते) दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन्।
गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार नयाँ दिल्ली पुगेपछि प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। त्यसपछि मंसिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री मोदीसँगको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संशाधन विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछ।
नेपालका लागि भारत महत्वपूर्ण विकास साझेदार रहेकाले दुई देशबीचको विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ।
परराष्ट्र सचिव राईले उच्चस्तरीय भ्रमणले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाह नेतृत्वको सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा रहनेछन्।
















