नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बुधबार पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबारदेखि सुरु भएको बैठकमा आज विभिन्न समसामयिक तथा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको धारणा प्रस्तुत गरेका थिए भने महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची पेस गरेका थिए ।
आजको बैठकमा महामन्त्री पौडेलले प्रस्तुत गरेको कार्यसूचीमाथि छलफल हुने बताइएको छ । बैठकमा संगठनको आगामी कार्यभार, ‘हामी तयार छौँ’ अभियान, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण र विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत विषयले प्राथमिकता पाउनेछन् ।
त्यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, नागरिक सरोकारका विषय, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको छ ।
यसका साथै बैठकमा पार्टीको सांगठनिक अवस्था, आगामी कार्ययोजना तथा विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।














