दुई दिनमा जम्मा ५२ सय रुपैयाँ बढेको सुनको मूल्य आज फेरि उच्च दरमा घटेको छ।
सुनको भाउ आज तोलामा ६ हजार ५ सय रुपैयाँ घटेर २ लाख ४१ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्य सोमबार र मंगलबार लगातार बढ्दा जम्मा ५ हजार २ सय रुपैयाँ बढेको थियो।
सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ९ सय पुगेको थियो। गत सोमबार तोलामा ४ हजार ८ सय रुपैयाँ बढेको थियो।
यसअघि गत कात्तिक २३ गतेदेखि एक सातासम्म सुनको भाउ लगातार घटेको थियो। एक सातामा ४१ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि उच्च दरमा घटेको हो।
आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा १ सय ५ रुपैयाँ घटेर चाँदीको भाउ ३ हजार ४० रुपैयाँमा झरेको हो। हिजो चाँदीको भाउ ३ हजार १४५ रुपैयाँ थियो।
गत वर्षको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयताको झण्डै १० महिनामा सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ घटिसकेको छ।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।














