शेख हसिनाको समर्थनमा आज र भोलि ‘बंगलादेश बन्द’ आह्वान

Image

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मातृभूमि फर्कने घोषणा गरेयता देशमा राजनीतिक तनाव र हिंसा बढेको छ। हसिनाको समर्थनमा उनको पार्टी अवामी लिगले आज नोभेम्बर २७ र भोलि २८ तारिख २ दिनका लागि देशव्यापी बन्द आह्वान गरेको छ।

अवामी लिगले आठ माग राखेर देशव्यापी बन्द घोषणा गरेको हो। पार्टीविरुद्धको प्रतिबन्ध हटाइनुपर्ने र राजनीतिक बन्दीहरूको रिहाइ गरिनुपर्नेलगायत माग उसले अघि सारेको छ। हसिनाको फिर्ती सम्भावना र बढ्दो हिंसालाई ध्यानमा राख्दै बंगलादेश सरकारले सीमामा सुरक्षा बढाएको छ।

अवामी लिगका प्रवक्ता सैयद मुजम्मिल अलीले केही दिनअघि मात्र विज्ञप्ति जारी गर्दै ७९ वर्षीया शेख हसिना आगामी डिसेम्बर १६ मा बंगलादेश फर्कने योजना रहेको बताएका छन्। डिसेम्बर १६ बंगलादेशमा १९७१ को मुक्ति युद्ध विजयको वार्षिकोत्सव हो।

विद्यार्थी आन्दोलनले सत्ताच्युत भएपछि २०२४ अगस्ट ५ तारिख हेलिकप्टर चढेर भागेकी हसिना त्यसयता भारतमै छिन्। बंगलादेशले बारम्बार उनको सुपुर्दगी माग गरे पनि भारतले सुनुवाइ गरिरहेको छैन।

यसैबिच बुधबार भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस विषयमा प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘बंगलादेशले गरेको प्रत्यर्पण अनुरोधका विषयमा हामी हाम्रो प्रक्रियाअनुसार विचार गरिरहेका छौँ। जहाँसम्म नागरिक फिर्ताको सवाल छ, यसका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) आवश्यक हुन्छ जुन प्रत्यर्पण अनुरोधभन्दा फरक कुरा हो।’

हालै मात्र हसिनाले आफू आगामी डिसेम्बर १६ तारिख स्वदेश फर्किने भन्दै यसका लागि विमानको व्यवस्था गरिदिन बंगलादेश सरकारसँग अनुरोध गरेकी छन्। हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले मंगलबार भनेका छन्, ‘५ अगस्ट २०२४ मा शेख हसिना बंगलादेशको विमानबाटै भारत गएकी थिइन्, त्यसैले उनले अहिले दिल्लीबाट ढाका फर्किन पनि हवाई यातायातको व्यवस्था मिलाइदिन (बंगलादेश) सरकारसँग आग्रह गरेकी छन्।’

बंगलादेशमा डिसेम्बर १६ मा विजय दिवस मनाइन्छ। सन् १९७१ यो तारिख बंगलादेशले पाकिस्तानविरुद्ध युद्ध जितेर स्वतन्त्रता प्राप्त गरेको दिन हो। हसिनाका सहयोगी अबु ओबैदा अरिनले एसोसिएटेड प्रेससँग भनेका छन्, ‘उनले बंगलादेश फर्कन डिसेम्बर १६ विजय दिवस रोज्नु धेरै महत्त्वपूर्ण छ।’ अरिनले हसिनाको नेतृत्वमा बंगलादेश फेरि एकपटक शान्ति, स्थिरता र प्रगतिको बाटोमा अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको पनि बताए।

हसिनाले देश छाडेपछि २०२५ नोभेम्बर १७ मा ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले विद्यार्थी आन्दोलनमा हिंसा गरेको भन्दै उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको छ। संयुक्त राष्ट्र संघका अनुसार २०२४ अगस्टमा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा तत्कालीन हसिना सरकारले दमन गर्दा १,४०० जनाको मृत्यु भएको थियो।