प्रहरीले बागमती प्रदेशका तीन जिल्लामा आठ बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ ।
मकवानपुर, धादिङ र सिन्धुलीमा मङ्सिर १ देखि ८ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा प्रहरीले गाँजाखेती फडानी गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद धमलाका अनुसार मकवानपुरमा पाँच बिघा, धादिङमा दुई बिघा १२ कट्ठा र सिन्धुलीमा १३ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ ।
लागूऔषध नियन्त्रण तथा विशेष कारबाही कार्ययोजना–२०८२ अनुसार चाडपर्वपछि लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिइएको प्रवक्ता धमलाले बताए ।
गाँजाखेती फडानीका लागि तीनवटै जिल्लामा ९५ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
















