राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा चीन भ्रमण दलका प्रमुख विपिन कुमार आचार्यले चीन भ्रमणबारे पार्टी सभापति रवि लामिछानेलाई ब्रिफिङ गरेका छन् ।
चीन भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएलगत्तै शुक्रबार भएको भेटमा महामन्त्री आचार्यले भ्रमणका क्रममा भएका उच्चस्तरीय राजनीतिक संवाद र अवलोकनबारे जानकारी गराएका हुन् ।
नोभेम्बर १५ देखि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीनको सिचुवान, चच्याङ र बेइजिङको भ्रमण गरेको आचार्य नेतृत्वको २० सदस्यीय टोली बिहीबार नेपाल फर्किएको थियो ।
भेटका क्रममा आचार्यले सीपीसीका वरिष्ठ नेता ली शुलेईसँग भएको लामो तथा उच्चस्तरीय भेटवार्ताबारे विशेष जानकारी दिएको बताइएको छ । सो भेटसहित केन्द्रीय तहदेखि काउन्टीस्तरसम्मका चिनियाँ नेताहरूसँगको संवादमा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासमा अन्तर–पार्टी सहकार्य सुदृढ बनाउने विषयमा गहन छलफल भएको थियो ।
भ्रमण टोलीले चीनका विभिन्न उद्योग–व्यवसाय, विश्वविद्यालय तथा सांस्कृतिक क्षेत्रको अवलोकन गर्नुका साथै विपद्पूर्व र विपद्पछिको रणनीति, भूकम्पपछिको पुनर्निर्माण, नेपाली उत्पादनको चिनियाँ बजारमा पहुँच र नेपालमा लगानीका सम्भावनाबारे समेत छलफल गरेको थियो । नेपाल–चीन द्विपक्षीय सहकार्यका विविध आयामबारे खुलेर संवाद भएको आचार्यले सभापति लामिछानेलाई अवगत गराए ।
ब्रिफिङपछि सभापति लामिछानेले भ्रमणका क्रममा स्थापित उच्चस्तरीय राजनीतिक संवाद तथा त्यहाँ सिकेका र छलफल भएका विषयहरूलाई पार्टी संगठन र देश विकासमा लागू हुने गरी ठोस कार्यान्वयनको दिशामा लैजान महामन्त्रीमार्फत भ्रमण दललाई निर्देशन दिएका छन् ।
















