विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
शुक्रबार सुर्खेतको कालुन्चोक क्रिकेट मैदानमा भएको समूह ‘सी’को खेलमा एपीएफले कोसी प्रदेशविरुद्ध ११ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।
एपीएफले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याएको कोसीले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनायो ।
कोसीका अंकित सुवेदीले ५२ रन जोडे । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यसैगरी, कृतिक कामतले २७ र समीर कार्कीले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपीएफका अमरसिंह रौटेलाले तीन, अभिनाश बोहराले दुई तथा सन्तोष यादव र कप्तान भुवन कार्कीले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५४ रनको योगफल तयार पारेको थियो ।
एपीएफका दीपक बोहराले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यसैगरी, सुमीत महर्जनले २८, अमरसिंह रौटेलाले १६ र सन्तोष यादवले ११ रन बनाए ।
कोसीका विपिनकुमार महतोले तीन, प्रतिक पोखरेल र कप्तान सुजन थपलियाले दुई–दुई तथा फिरदोस अन्सारीले एक विकेट लिए ।
















