नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग बोलपत्र आह्वान गरेको छ ।
प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत चौबिसै घण्टा (राउन्ड द क्लक–आरटीसी) विद्युत् खरिद गर्ने उद्देश्यले भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो ।
प्राधिकरणले २७ नोभेम्बर २०२६ मा प्रकाशित सूचनामार्फत भारतका श्रेणी–१, २ र ३ का विद्युत् व्यापार अनुमतिपत्र प्राप्त कम्पनीहरूलाई बोलपत्रमा सहभागी हुन आह्वान गरेको छ । विद्युत् खरिदका लागि एक चरण दुई खाम (सिंगल स्टेज टु इन्भेलप) प्रक्रियाबाट प्रतिस्पर्धा गराइने प्राधिकरणले जनाएको छ ।
बोलपत्र पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ दिउँसो १२ बजेसम्म तोकिएको छ । प्राधिकरणले सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोल्ने जनाएको छ । प्राविधिक प्रस्ताव प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा खोलिनेछ ।
बोलपत्रमा सहभागी हुन इच्छुक कम्पनीले बोलपत्र दस्तुरबापत १२ हजार ५०० भारतीय रुपैयाँ वा त्यस दिनको नेपाल राष्ट्र बैंकको बिक्री विनिमय दरअनुसार बराबर हुने नेपाली रुपैयाँ बुझाउनुपर्नेछ । उक्त रकम प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको नबिल बैंक, तीनधारास्थित खातामा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, बोलपत्रदाताले आफूले प्रस्ताव गरेको कुल विद्युत् क्षमताका आधारमा प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारतीय रुपैयाँका दरले धरौटी (अर्नेस्ट मनी डिपोजिट) राख्नुपर्नेछ । यसको नेपाली रुपैयाँमा हुने रकम पहिलोपटक सूचना प्रकाशित भएको दिनको नेपाल राष्ट्र बैंकको बिक्री विनिमय दरअनुसार गणना गरिनेछ ।
प्राधिकरणले बोलपत्रसम्बन्धी कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र पोर्टलबाट डाउनलोड गर्न सकिने जनाएको छ । इच्छुक कम्पनीले सोही पोर्टलमार्फत विद्युतीय रूपमा बोलपत्र पेस गर्नुपर्नेछ ।
प्राधिकरणका अनुसार बोलपत्रको प्राविधिक प्रस्ताव खोल्दा सम्बन्धित कम्पनीका प्रतिनिधि वा आधिकारिक प्रतिनिधि उपस्थित हुन सक्नेछन् । साथै, प्राप्त प्रस्तावमध्ये कुनै वा सबै प्रस्ताव कारण नखुलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार प्राधिकरणमा सुरक्षित रहने सूचनामा उल्लेख छ ।
बोलपत्रसम्बन्धी थप जानकारी तथा संशोधनका लागि प्राधिकरणको आधिकारिक वेबसाइट र सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टल नियमित हेर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।















