काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज पाकिस्तानको कराँची पुगेर काठमाडौंमै फर्किएको हो । फर्किएको जहाज बुधबार राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थल स्रोतका अनुसार जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको हो । टिकासले काम नगरेपछि लामो दूरीमा जहाज उडाउँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले विमान फर्किएको हो ।

उक्त जहाजको प्राविधिक परीक्षणको काम जारी छ । यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।