पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छुटे

 सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो । सरकारी वकिल कार्यालयको रायपछि सीआईबीमा कागज गराएर महरालाई परिवारको जिम्मा लगाएको छ।

पूर्वसभामुखसमेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा सीआइबीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो। त्यसपछि अदालतकै आदेशअनुसार महरा अहिले उपचारका लागि नर्भिक अस्पतालमा छन्।

इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए। भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको पाइएपछि महरालाई पक्राउ गरिएको थियो।

यसअघि नै महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको थियो। उनीहरू अहिले पनि पुर्पक्षका लागि थुनामा छन्।