समानान्तर पार्टी र संगठनको देशव्यापी अभ्यासमा नेकपा एमाले माधव समूह
बाग्मती प्रदेश र सुदूरपश्चिममा आज अलग्गै कमिटी घोषणा गर्ने
गण्डकी प्रदेशबाट अलग्गै कमिटी गठन गरेर अघि बढेको नेकपा एमालेको माधव नेपाल पक्ष आफ्नो अभियानलाई देशव्यापी रूपमा अघि लैजाने भएको छ । पहिले समानान्तर कमिटीमार्फत सङ्घर्ष र त्यसपछि पार्टी एकताको पहल थाल्ने रणनीतिसहित अघि बढेको एमालेको नेपाल समूहले आज मङ्गलवार एकैदिन बागमती प्रदेश सुदूरप्रदेशमा पनि अलग्गै कमिटी बनाउने भएको छ । त्यसका लागि आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बागमती प्रदेशस्तरीय स्थायी समिति बैठक बस्दै छ । बैठकले पार्टीको बागमती प्रदेश कमिटी घोषणा गर्ने एक नेताले जानकारी दिए ।
आजै सुदूरपश्चिम प्रदेशमा पनि नेपाल पक्षले अलग्गै कमिटी घोषणा गर्दै छ । सर्वोच्च अदालतको फैसलाले एमालेलाई पहिलेकै अवस्थामा फर्काइदिए पनि अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गते कमिटीलाई मान्यता नदिई आफूखुसी फेरबदल गरेको भन्दै माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म अलग (समानान्तर) कमिटी बनाउने अभियान थालेको हो । पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि दिएको मुद्दामा सर्वोच्च अदालते गत फागुन २३ गते उनकै नेकपालाई मान्यता दिँदै एमाले–माओवादी केन्द्र मिलेर पछि निर्वाचन आयोगमा दर्ता नेकपा बदर गरिदिएको हो । योसँगै पुनर्स्थापना भएको एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको समूह र झलनाथ खनाल–माधवकुमार नेपालको पक्षबिच तीव्र विवाद सुरु भएको हो ।
अदालतले फैसला गरेको ५ दिनपछि फागुन २८ गते अध्यक्ष ओलीले आफूपक्षीय केन्द्रीय बैठक राखी खनाल–नेपाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाउने निर्णय गरेपछि विवाद चर्किएको हो । जसको विरोधमा खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलादेखि समानान्तर कमिटी गठनसम्मलाई तीव्रता दिइरहेको हो ।