बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन सुरू गरेको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो ।
पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम सुरू भएको प्रमुख पाण्डेयले बताए ।
उनले पहिलो दिन करीब ४ सय गाई गोरु गौशालामा राखिएको र दैनिक रुपमा अभियान सञ्चालन गरेर सडकबाट गाई गोरु हटाउने बताए ।
उनले सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पुर्याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न आग्रह गरे । उनले सडकमा गाईगोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको बताए ।
उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण समेतले छाडा चौपाया नियन्त्रण गर्न सघाएका थिए ।
अब दैनिक रूपमा अभियान सञ्चालन गरेर सडकबाट गाई(गोरु हटाइने नगरप्रमुख पाण्डेयले बताए ।













