नेपाल बैंकर्स संघले वाणिज्य बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताएको छ । सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी बढ्न नसकेको संघका अध्यक्ष सुनिल केसीले बताए । केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको तथ्य प्रस्तुत गरेका छन् ।
गत आवको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आवकोअसोज मसान्तसम्म १६ अर्ब पुगेको उनको भनाइ छ । चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको केसीले बताए ।
त्यस्तै निजी क्षेत्रको ब्यापार व्यवसाय सुस्ताएका कारण त्यसको प्रभाव स्वतः बैंकहरुमा परेको उनको भनाइ छ । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन बढाएर ८४ अर्ब रुपैयाँ कर्जा बढाएको उनको भनाइ छ । गत वर्ष बैंकहरुको औसत खराब कर्जा २.९८ प्रतिशत रहेकोमा बढेर असोज मसान्तसम्म खराब कर्जा ३.६१ प्रतिशत पुगेको उनले बताए ।














