नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर घट्दै जाने बताएका छन् । बैंकर्स संघको आयोजनामा सोमबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले बैंकको ब्याजदर क्रमशः घट्दै जाने बताएका हुन् ।
नेपालमा भन्दा विदेशमा ब्याजदर बढी रहेको उनको भनाइ छ । नेपालमा पछिल्लो समय ब्याजदर घटेको केसीले बताए। लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको उनले बताएका छन् । स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोही अनुसार बैंकहरुले काम गरेको अध्यक्ष केसीको भनाइ छ ।
केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको बताएका छन् । गत आवको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आवकोअसोज मसान्तसम्म १६ अर्ब पुगेको उनको भनाइ छ ।
चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको केसीले बताए ।
‘डिपोजिट पनि धेरै बढ्न सकेन । १२० अर्बले बढ्नु धेरै होइन । निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भयो । खराब कर्जा ३.६१ प्रतिशत पुग्यो’ उनले भने, ‘ दक्षिण एसियाली देश हेर्दा ठिकै छ, डराउनु पर्ने अवस्था छैन । तैपनि सजग हुनै पर्छ । हामी सजग हुँदैछौं ।’
केसीले आर्थिक मन्दीको असर बैंकमा परेको बताए । दक्षिण एशियाली देशसँग तुलना गर्दा नेपाली बैंक ठिक अवस्थामा रहेको उनले बताए ।
यस्तै हिमालयन बैंकका सीईओ अशोक राणाले पनि बैंकको ब्याजदर घट्दै जाने बताए । राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव पारेको उनको भनाइ छ ।
‘अब ब्याजदर घट्ने देखिन्छ, राष्ट्र बैंकको नीतिले ब्याजदरमा प्रभाव परिरहेको छ, तल जान सक्छ माथि जाने सम्भावना छैन,’ उनले भने । उनका अनुसार बैंकहरुले रिकभरीमा बढी प्राथमिकता दिएका छन् ।














